
काठमाडौँ- नेपालीहरूको महान् पर्व दसैँमा कतिपय विद्यार्थी आफन्तसँग भेटघाट, टीकाटालो र रमाइलो गर्ने तयारीमा छन् भने कतिपयले लामो बिदालाई पढाइमा सुधार ल्याउने अवसरका रूपमा लिएका छन्। काठमाडौँको लाजिम्पाटस्थित रानीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू दसैँमा रमाइलोसँगै अध्ययनलाई निरन्तरता दिने योजनामा छन्। विद्यार्थीहरूका अनुसार दसैँ पारिवारिक भेटघाट, मनोरञ्जन र नयाँ कुरा सिक्ने अवसर हो। उनीहरूले बिदामा शिक्षकले दिएको गृहकार्य पूरा गर्ने, पढेका पाठ दोहोर्याउने र आफूलाई कमजोर लागेका विषयमा थप अभ्यास गर्ने योजना बनाएका छन्। कक्षा १० मा अध्ययनरत अञ्जली खतिवडा दसैँमा रमाइलो गर्नुका साथै छुटेका पाठहरू अध्ययन गर्ने योजनामा छिन्। उनले बिदामा गृहकार्य गर्दा पढ्ने बानी कायम रहने र अनावश्यक रूपमा ध्यान भंग नहुने बताइन्। ‘दसैँमा गृहकार्य दिँदा एकदमै राम्रो लाग्छ। गृहकार्य गरेर पढ्ने बानीको विकास हुन्छ,’ उनले भनिन्। अञ्जलीका अनुसार दसैँमा रचनात्मक काम गर्दै सिकेका कुरालाई व्यवहारमा उतार्न सके बिदा अझ उपलब्धिमूलक बन्न सक्छ। कक्षा १० मै अध्ययनरत आरती लम्सालको योजना पनि यसपालि काठमाडौँमै बसेर दसैँ मनाउने छ। दाङ घर भएकी उनी यसपटक गाउँ नजाने र विद्यालयले दिएको गृहकार्य पूरा गर्दै एसईईको तयारीलाई राम्राे बनाउने योजनामा छिन्। ‘यसपालि गाउँ नजाने,यतै बसेर रमाउने र गृहकार्य गर्ने योजना छ। सरहरूले सिकाउनुभएको विषयमा कमजोरी छन् भने तिनलाई अझ राम्रो बनाउँदै लैजान्छु,’उनले भनिन्। लामो बिदामा पढाइबाट टाढा हुँदा सिकेका कुरा बिर्सन सकिने भएकाले गृहकार्यले अध्ययनमा सहयोग पुग्ने उनी बताउँछिन्। दसैँमा धेरै घुमघाम गर्नुभन्दा पढाइलाई प्राथमिकता दिन मन लाग्ने भए पनि कहिलेकाहीँ साथीहरूसँग रमाइलो गर्न भने आफूलाई रुचि लाग्ने उनले बताइन्। कक्षा ७ मा अध्ययनरत आरवी लम्साल पनि काठमाडौँमै बसेर दसैँ मनाउने तयारीमा छन्। दाङ घर भएका उनले आफन्तसँग टीका लगाउने, शिक्षकले दिएको गृहकार्य पूरा गर्ने र नयाँ किताब पढ्ने योजना सुनाए। उनका लागि दसैँ आफन्तसँग भेटघाट गर्ने र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पनि हो। ‘दसैँ हिन्दु धर्म मान्नेहरूले मनाउने एकदम राम्रो चाड हो। यसमा वर्षभरि नभेटेका आफन्तसँग बसेर रमाइलो गर्न र टीका लगाउन पाइन्छ,’ उनले भने। कक्षा ८ मा अध्ययनरत साया राईको योजना पनि काठमाडौँमै बसेर आफन्तसँग दसैँ मनाउने छ। खोटाङ घर भएकी उनले दसैँमा रमाइलो गर्नुका साथै गृहकार्य पूरा गर्ने र आफूलाई गाह्रो लागेका विषय अध्ययन गर्ने बताइन्। ‘दसैँपछि पनि शिक्षकहरूले दिएको गृहकार्य गर्ने र आफूलाई गाह्रो लागेको विषय पढ्ने योजना छ,’उनले भनिन्। खोटाङ घर भएकी कक्षा ८ की सृष्टि राईले पनि यसपटक गाउँ नजाने र काठमाडौँमै बसेर दसैँ मनाउने योजना बनाएकी छन्। उनले विद्यालयले सबै विषयको गृहकार्य दिएको र बिदामा अध्ययनलाई निरन्तरता दिन आफू तयार रहेको बताइन्। पाल्पा घर भएकी कक्षा ९ की ग्रीष्मा भण्डारी पनि यसपालि गाउँ नजाने योजनामा छिन्। परिवारसँगै काठमाडौँमा बसेर दसैँ मनाउने, टीका लगाउने र रमाइलो गर्ने उनको योजना छ। उनले बिदामा शिक्षकले दिएको गृहकार्य गर्ने र परिवारलाई घरायसी काममा सघाउने पनि बताइन्। गुल्मी घर भएकी कक्षा ८ मा अध्ययनरत अञ्जली खतिवडाले भने दसैँमा घर गएर आफन्तसँग भेटघाट गर्ने योजना बनाएकी छन्। उनले टीकाटालो र पारिवारिक रमाइलोसँगै शिक्षकले दिएको गृहकार्य पूरा गर्ने, नयाँ कुरा सिक्ने र विद्यालयमा पढेका पाठ दोहोर्याउने बताइन्। बिदाको समयलाई उपयोग गर्दै पढाइमा थप मेहनत गर्ने उनको योजना छ। तनहुँ घर भएका सुमिर नेपाली भने दसैँमा टाढा नजाने र काठमाडौँमै बसेर बिदा बिताउने योजनामा छन्। विद्यालयमा एक वर्षदेखि अध्ययनरत उनले घरमै बसेर पढ्ने र पाठ्यपुस्तकका अभ्यास गर्ने बताए। ‘दसैँको बीचमा पनि पढ्ने र बस्ने हो, अलिअलि दसैँ पनि मनाइन्छ,’ उनले भने। बिदामा गृहकार्य दिनु उचित रहेको उनको धारणा छ। यसले पढेका विषयको पुनरावृत्ति गर्न सहयोग पुग्ने उनी बताउँछन्। कक्षा ९ मा अध्ययनरत मिथुन बोहराले भने आफ्नो परिवारले दसैँ नमनाउने बताए। सुदूरपश्चिम घर भएका उनले दसैँ बिदाको समयलाई पढाइ, गृहकार्य र साथीभाइसँगको भेटघाटमा उपयोग गर्ने योजना सुनाए। विद्यालयले दिएको गृहकार्य पूरा गर्नुका साथै बिदामा पनि अध्ययनसँग जोडिइरहने उनको सोच छ। गृहकार्यले पढाइसँगको सम्बन्ध कायम राख्छ : शिक्षक विश्वकर्मा रानीदेवी माध्यमिक विद्यालयका शिक्षक टेक विश्वकर्माले लामो बिदामा विद्यार्थीलाई अध्ययनसँग जोडिराख्न गृहकार्य आवश्यक रहेको बताए। उनका अनुसार वैशाखदेखि सुरु भएको शैक्षिक सत्रमा असोजसम्म धेरैजसो पाठ्यक्रम अघि बढिसकेको हुन्छ। यस्तो अवस्थामा लामो समय पढाइबाट टाढा हुँदा विद्यार्थीले सिकेका विषय बिर्सने सम्भावना हुन्छ। ‘लामो समय पढाइमा ग्याप हुँदा विद्यार्थीले पढेका कुरा बिर्सन सक्छन्। त्यसकारण सबै विषयमा गृहकार्य दिन्छौँ,’ उनले भने। विद्यार्थीलाई अनावश्यक बोझ नपर्ने गरी विषयको प्रकृति र गम्भीरताअनुसार गृहकार्य, परियोजना कार्य तथा अभ्यास प्रश्नहरू दिइएको उनले बताए। कुनै विषयमा परियोजना कार्य, कुनैमा गृहकार्य र कुनैमा पाठ्यक्रमअनुसारका अभ्यास प्रश्न हल गर्ने जिम्मेवारी दिइएको उनको भनाइ छ। विशेषगरी कक्षा १० का विद्यार्थीलाई लक्षित गरी एसईई तयारीका लागि समूहसमेत बनाइएको विश्वकर्माले बताए। प्रत्येक शिक्षकको जिम्मामा १५ देखि २० विद्यार्थी रहने गरी समूह गठन गरिएको र बिदाको समयमा पनि विद्यार्थीको अध्ययन गतिविधिबारे जानकारी लिने व्यवस्था मिलाइएको उनले जानकारी दिए। ‘विद्यार्थीलाई गृहकार्य दिन्छौँ नै। उनीहरूले पनि ‘सर, म्याम, हामीलाई गृहकार्य दिनुहोस्’ भनेर मागिरहेका छन्,’ उनले भने, ‘विद्यार्थीहरू खेल्ने, खाने, रमाउने र घुम्ने मात्र नभई पढाइमा पनि अद्यावधिक रहनुपर्छ भन्नेमा सचेत छन्।’ विद्यालय प्रशासन र व्यवस्थापनबाट पनि एसईई तयारीलगायत शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन सुझाव आउने गरेको उनले बताए। शिक्षकहरू आन्तरिक शैक्षिक योजनाअनुसार बिदामा पनि विद्यार्थीको सिकाइ निरन्तर राख्ने तयारीमा रहेको उनको भनाइ छ।