
काठमाडौं । सीमापार आर्थिक कारोबार गर्ने वित्तीय प्रविधि कम्पनी लेमफीले आफ्नो उत्पादन विस्तार गर्दै बेलायतमा बचत तथा ऋण सेवा र १०० भन्दा बढी गन्तव्यमा प्रयोग गर्न सकिने ई–सिम सेवा सुरु गरेको छ। कम्पनीले नयाँ विश्वव्यापी ब्रान्ड अभियान ‘एम्बिसन ह्याज नो पासपोर्ट’ अर्थात् ‘महत्त्वाकाङ्क्षाको कुनै पासपोर्ट हुँदैन’ पनि सार्वजनिक गरेको छ। लेमफीले यसअघि सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई विस्तार गर्दै एउटै डिजिटल मञ्चबाट वित्तीय सेवाहरू उपलब्ध गराउने योजना अघि सारेको हो। कम्पनीका अनुसार नयाँ सेवाले विदेशमा बस्ने, काम गर्ने र अर्को देशमा रहेका परिवारलाई आर्थिक सहयोग गर्ने मानिसलाई आफ्नो वित्तीय जीवन व्यवस्थापन गर्न सहज बनाउने लक्ष्य राखेको छ। कम्पनीका अनुसार हाल दुई करोडभन्दा बढी होइन, २० लाखभन्दा बढी ग्राहकले लेमफी प्रयोग गर्दै आएका छन्। उनीहरूले ३० भन्दा बढी देशमा रकम पठाउने गरेका छन्। कम्पनीको मासिक कारोबार दुई अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ। आगामी वर्ष थप देशमा सेवा विस्तार गर्ने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ। लेमफीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रिडवान ओलालेरले विदेशमा रकम पठाउनु समस्याको एउटा हिस्सा मात्रै भएको बताएका छन्। उनका अनुसार मानिसले अर्को देशमा पुगेर करिअर, व्यवसाय र परिवार निर्माण गर्दा वित्तीय प्रणालीसँग जोडिएका थप चुनौती सामना गर्नुपर्छ। उनले भने, ‘हामीले लेमफी सुरु गर्दा घरमा पैसा पठाउने प्रक्रिया सहज थिएन। तर, हामीले पछि बुझ्यौँ कि रकम पठाइसकेपछिको चुनौती अझ ठूलो छ।’ विदेशमा बस्ने मानिसले आफ्नो शैक्षिक योग्यता, बचतको इतिहास र ऋणसम्बन्धी विवरण नयाँ देशमा उपयोग गर्न कठिनाइ भोग्नुपर्ने अवस्थालाई सम्बोधन गर्नु कम्पनीको विस्तारको मुख्य उद्देश्य रहेको जनाइएको छ। बेलायतमा बचत खातामा ५ प्रतिशत ब्याजलेमफीले बेलायतका ग्राहकका लागि सुरु गरेको बचत खातामा पहिलो छ महिनासम्म वार्षिक ५ प्रतिशत प्रभावकारी ब्याजदर (एईआर) उपलब्ध हुने जनाएको छ। त्यसपछि ब्याजदर वार्षिक ३.०४ प्रतिशतमा झर्नेछ। ग्राहकले एक पाउन्डबाटै खाता खोल्न सक्ने कम्पनीको भनाइ छ। योग्य निक्षेपमा बेलायतको वित्तीय सेवा क्षतिपूर्ति योजनाअन्तर्गत (एफएससीएस) एक लाख २० हजार पाउन्डसम्म संरक्षण उपलब्ध हुने कम्पनीले जनाएको छ। बेलायतका ग्राहकले उपलब्धताका आधारमा घुम्ती ऋण सुविधा पनि उपयोग गर्न सक्नेछन्। योग्य ग्राहकले लेमफीको एपमार्फत इक्विफ्याक्सको आफ्नो ऋणसम्बन्धी अङ्क निःशुल्क जाँच गर्न पाउने व्यवस्था गरिएको छ। १०० भन्दा बढी गन्तव्यमा ई–सिम सेवाकम्पनीले नयाँ ई–सिम सेवामार्फत यात्रामा निस्कनुअघि नै १०० भन्दा बढी गन्तव्यका लागि मोबाइल डेटा खरिद गर्न सकिने सुविधा ल्याएको छ। यसका लागि भौतिक सिमकार्ड परिवर्तन गर्नुपर्ने छैन। परम्परागत अन्तर्राष्ट्रिय रोमिङ शुल्कबाट बच्न पनि यो सेवाले सहयोग गर्ने कम्पनीको दाबी छ। नयाँ सेवासँगै लेमफीले आफ्नो मोबाइल एपको पुनःनिर्माण गरेको छ। विभिन्न वित्तीय उत्पादनलाई एउटै खाताबाट प्रयोग गर्न मिल्ने गरी एपको संरचना परिमार्जन गरिएको कम्पनीले जनाएको छ। कम्पनीकी डिजाइन तथा ब्रान्ड उपाध्यक्ष इसाबेल रोन–पेड्रिकेका अनुसार लेमफीको सेवा रकम घर पठाउने माध्यमबाट सुरु भए पनि ग्राहकले त्यसलाई सीमापार जीवन निर्माण गर्ने माध्यमका रूपमा विस्तार गरेका छन्। उनले भनिन्, “हाम्रा ग्राहक आफूले छाडेर आएको देशबाट मात्रै परिभाषित हुँदैनन्। उनीहरू के निर्माण गरिरहेका छन् भन्ने कुराले उनीहरूको पहिचान निर्धारण गर्छ।” हाल बचत तथा ऋण सेवा बेलायतमा उपलब्ध छन्। अन्य बजारमा पनि यी सेवा विस्तार गर्ने कम्पनीको योजना छ। नयाँ ब्रान्ड अभियानले देशको सीमाभन्दा बाहिर गएर अवसर खोज्ने, व्यवसाय सञ्चालन गर्ने र परिवारको भविष्य निर्माण गर्ने मानिसको आकाङ्क्षालाई प्रतिबिम्बित गर्ने लेमफीले जनाएको छ।